Friday, April 17, 2026

कुरो आमाको

 हरेक वर्ष आमाको मुख हेर्ने दिन आउँदा म अझै पनि एकछिन रोकिएर सोच्ने गर्छु, साझ परे पछि "छिटै आइज है" भनेर  फोन गरेर बोलाउने कोही छैन।बित्नु भएको  तीन वर्ष भयो होल, तर मातातीर्थ औंसी आउँदा समय अलि अड्किएको जस्तो लाग्छ। आमाको मुख हेर्ने दिन भन्छन्, तर म भने अब सम्झनामा मात्र उहाँको अनुहार हेर्छु, अलि स्पष्ट, अलि धमिलो, जस्तो आइरहन्छ।

फेसबुकमा केही लेख्ने, अनि दिन सकियो जस्तो गर्ने, उपहार दिने भन्दा बढी एउटा शान्त सम्झना जस्तो लाग्छ, कल्पनामै भए पनि मुहार सम्झिएर एकछिन बस्ने, हेर्ने, र आमालाई वास्तवमै महसुस गर्ने दिन।

अहिले मैले  गर्ने काम कुरा पहिले जस्तै छैन। बिहान छिट्टै उठेर चिया पिउँदा, उहाँसँगै बसेको जस्तो लाग्छ, पुराना कुरा आफैं सम्झिन्छु र आफैं सुन्छु। कोही मातातीर्थ जान्छन्, म कहिलेकाहीँ जान्छु पनि, तर साँचो भन्नुपर्दा सम्झना जहाँ हुन्छ, त्यही नै तीर्थ जस्तो हुने रहेछ। सानो केही गर्छु, मनमनै धन्यवाद भन्छु, र दिनलाई अलि शान्त भएर बिताउँछु, धेरै देखाउने किसिमले होइन।

हाम्रो घरमा उहाँ चुपचाप सबै कुरा सम्हाल्नुहुन्थ्यो, र हामीलाई कहिल्यै समस्यहरु ठूलो कुरा जस्तो महसुस गराउनु भएन। अहिले सोच्दा, त्यो नै सबैभन्दा ठूलो कुरा रहेछ। थोरै चामलले धेरैलाई पुग्ने बनाउनु, सबैको कुरा सुन्नु, अनि आफनो थकान लुकाउनु, म त्यतिबेला खासै ध्यान दिँदिनथें। अब वर्षमा एक दिन मात्र होइन, बेला बेला म ती साना कुराहरू सम्झिन्छु। शायद यही नै मेरो तरीका भयो, ठूलो केही नगरी, उहाँलाई सम्झिने र आफूभित्र राखिरहने।

आमाका पुराना कथाहरू फेरि सुन्ने, पुजा  गर्दाको घंटिको आवाज, संस्कृतका ती कर्ण प्रिय श्लोक सबै सम्झना मै रहने भए l 

आँखाले नदेखे पनि मनले महसुस गरिरहन्छु,

तिम्रै  मायाको छहारीमा सधैं बाँचिरहन्छु।

आमा, तिम्रो  याद नै मेरो शक्ति हो।

यस वर्षको आमाको मुख हेर्ने दिनमा तिम्रो  बैकुण्ठ बासको कामना गर्दै कोटी-कोटी नमन!